
एजेन्सी, मंसिर ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको छैन भन्ने अधिकारीहरुमाथि प्रतिशोध साँध्न थाल्नुभएको छ ।
बिना प्रमाण निर्वाचनमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाउँदै पराजय अस्वीकार गरिरहनुभएका ट्रम्पले आफ्नो आक्रोश निर्वाचन सुरक्षा अधिकारीमाथि थोपर्न थाल्नुभएको हो ।
पराजयको रीस थोपर्दै ट्रम्पले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई बर्खास्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् साइबर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिनुभएको हो ।
क्रिसले नोभेम्बर ३ मा भएको चुनावमा कुनै प्रकारको धाँधली भएको प्रमाण नरहेको यसअघि बताउनुभएको थियो ।
क्रिसले आफ्नो वक्तव्यमा भन्नुभएको थियो, ‘कुनै पनि मतदान प्रणालीले मत डिलिट गरेको वा गुमाएको, मत परिवर्तन गरेको वा अरु कुनै पनि प्रकारको कमजोरी वा धाँधली गरेको प्रमाण छैन ।’
क्रिसले जारी गरेको वक्तव्य झूठो भन्दै ट्रम्पले बर्खास्त गर्नुभएको हो । चुनावमा धाँधली भएको भन्दै अदालत गुहार्न पुग्नुभएका ट्रम्प र उहाँको निर्वाचन अभियानले अहिलेसम्म बलियो प्रमाण पेश गर्न सकेको छैन ।
आफ्नो प्रशासनले नोभेम्बर ३ मा सम्पन्न गराएको निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनसँग फराकिलो अन्तरले पराजित ट्रम्प हार अस्वीकार गर्दै एकोहोरो धाँधली भएको आरोप लगाइरहनुभएको छ ।
बाइडन ५३८ मध्ये ३०६ इलोक्टोरल मतसहित विजयी बन्नुभएको छ भने ट्रम्प २३२ मतमा सीमित हुनुभएको छ ।
निर्वाचनमा हारेर पनि ट्रम्पले विजयी बाइडनका बधाई सन्देशमासमेत पहुँच नदिएको, दीर्घकालीन असर पर्ने सुरक्षासँग सम्बन्धित निर्णयहरु लिन थालेको भन्दै उहाँको पार्टी रिपब्लिकनकै नेताहरुले पनि आलोचना गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्