२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरले किन दिए यस्तो चेतावनी ?


0
Shares

us ex minister henary kissinger talk on china us relationship

एजेन्सी, मंसिर ३ । अमेरिकी पूर्व विदेशमन्त्री एवं वरिष्ठ कूटनीतिज्ञ हेनरी किसिञ्जरले चीनसँग तत्काल संवाद नगरे युद्ध निम्तिन सक्ने चेतावनी दिनुभएको छ ।

किसिञ्जरले नवनिर्वाचित राष्ट्रपति जो बाइडनको प्रशासनले चीनसँगको संवादलाई तत्काल थालनी गर्नु पर्ने सुझाव दिनुभएको हो ।

बाइडन प्रशासनले जतिसक्दो चाँडो र तीव्र गतिमा डोनाल्ड ट्रम्पको शासनकालमा बिग्रिएको अमेरिका–चीन सम्बन्ध फेरि सही मार्गमा ल्याउनका लागि काम गर्नु पर्ने उहाँको सुझाव छ ।

तत्काल संवाद थाल्न नसके अमेरिका–चीन तनावले सैन्य द्वन्द्वको रुप लिन सक्ने चेतावनी पनि पूर्वमन्त्री किसिञ्जरले दिनुभएको छ । उहाँले यसको स्वरप् पहिलो विश्वयुद्धको जस्तो हुनसक्ने चेतावनी पनि दिनुभयो ।

ब्लुमबर्ग न्यूज इकोनोमी फोरमलाई सम्बोधन गर्दै पूर्व मन्त्री किसिञ्जरले भन्नुभयो, ‘सहकार्य र संवादको आधारभूत प्रक्रिया नभएमा पहिलो विश्वयुद्धले निम्त्याएको विपद जस्तो अवस्थातर्फ विश्व धकेलिने छ ।’

कसैगरी दुई देश आमने सामने हुने अवस्थामा सैन्य प्रविधिमा आएको विकासले त्यस्तो सम्भावित विपदलाई नियन्त्रण वा समाधान गर्न अति कठिन हुने पनि किसिञ्जरको निचोड छ ।

९७ वर्षीय किसिञ्जरले ब्लुमबर्ग न्यूजका एडिटर इन चिफ जोन मिकलथ्वेटसँगको अन्तर्वार्तामा बाइडन प्रशासनसमक्ष चीनसँगको सम्बन्ध सुधारेर गम्भीर विपदबाट विश्वलाई जोगाउनु पर्ने कठिन जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

किसिञ्जर चीनसँगको अमेरिकी सम्बन्ध सुधार्ने एक अनुभवी कूटनीतिज्ञका रुपमा चिनिनुहुन्छ । रिचर्ड निक्सन र गेराल्ड फोर्ड राष्ट्रपति रहेका समयमा उहाँकै प्रयासमा अमेरिका चीन सम्बन्ध सुधारको बाटोमा गएको थियो ।