
एजेन्सी, मंसिर ३ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई आजीवन मुद्दा नलाग्ने कानून बनाउनु भएको छ ।
आफ्नो पकड रहेको रुसी संसद डूमाबाट उहाँले आफूलाई जिवित रहुञ्जेल कसैले पनि मुद्दा लगाउन नसक्ने कानून पारित गराउनुभएको हो ।
रुसी तल्लो संसदबाट पारित गरिएको यो कानून अनुसार अब पुटिन र उहाँको परिवारमाथि राष्ट्रपतिबाट बाहिर रहँदा पनि कुनैपनि प्रकारको आपराधिक मुद्दा चलाउन पाइने छैन ।
गत जुलाईमा गरिएको जनमत संग्रहले अनुमति दिएअनुसारकै यो कानून बनाइएको बताइएको छ । रुसको दुबै सदनमा पुटिनकै बहुमत रहेको छ ।
पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिने भएपनि उहाँले चाहँदा अरु दुई कार्यकाल अर्थात् १२ वर्ष (सन् २०३६ सम्म) बिना रोकतोक राष्ट्रपति पदमा रहिरहन संवैधानिक व्यवस्था पनि उहाँले गराइसक्नुभएको छ ।
सन् २००० देखि लगातार रुसी सत्तामा रहनुभएको पुटिनले सत्ता बाहिर रहँदा आफूलाई कुनै पनि आपराधिक कार्यसँग जोडेर मुद्दा लगाउन नपाउने कानूनी व्यवस्था किन गर्नुभयो भन्ने प्रश्न भने उब्जिएको छ ।
उहाँका विपक्षीहरुले पुटिनले शक्तिको दुरुपयोग गरेर सत्तामा निरन्तरता दिइरहेको, विपक्षीहरुलाई निर्वाचनमा भाग लिनसमेत नदिएको जस्तो आरोप लगाइरहेका छन् ।
पुटिनका तीब्र आलोचक मानिने एलेक्सी नाभल्नी (जसलाई विष दिएर हत्या गर्ने प्रयास गरिएको थियो) ले यो कानून बनेलगत्तै पुटिनलाई तानाशाहको संज्ञा दिनुभएको छ । उहाँले के तानाशाह जब मनले चाह्यो तब पद छाड्न सक्दछन् ? भन्दै प्रश्न पनि गर्नुभएको छ ।
पुटिनको यूनाइटेड रसिया पार्टीको दुबै सदनमा बुहमत रहे पनि ३७ विपक्षी वामपन्थी सांसदले विधेयकको विपक्षमा मत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्