
काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल भएको हो ।
बैठकमा प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने जानकारी दिनुभएको छ । उहाँले अलग्गै प्रतिवेदन ल्याउने भएकाले बैठक १० दिनका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अर्को बैठक मंसिर १३ गते बस्ने र त्यही दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गरिने भएको हो ।
बैठकले आगमी १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
अर्को बैठक दश दिनपछि बस्नेगरी सकिएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।
बुधबारको बैठकमा कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनमाथि सामान्य चर्चा भएको छ ।
दाहालले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको भन्दै गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री ओली बुधबारको बैठकमा भाग नै नलिने अडानमा रहेपनि पछि बैठकमा सहभागि हुनुभएको थियो ।
ओलीले नेताहरुसँग दाहालले लगाएका आरोप बेतूकको रहेको भन्दै जवाफ नदिने बताउँदै आउनुभएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद बैठक बालुवाटारमै शुरु हुँदैछ ।
सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो । त्यसअघि हिजो पनि उहाँले राष्ट्रपतिसँग भेट गर्नुभएको थियो ।
मंगलबार राति नै ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले पनि भेटवार्ता गर्नुभएको थियो ।
मंगलबार नै दाहालले पनि राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्