३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


रोमानियामा अपहरणमा परेकी एक किशोरीको हत्यापछि प्रहरी प्रमुख बर्खास्त


0
Shares

एजेन्सी । युरोपेली मुलुक रोमानियामा अपहरणमा परेकी एक किशोरीको हत्या गरिएपछि त्यहाँका प्रहरी प्रमुखलाई बर्खास्त गरिएको छ । अपहरणमा परेपछि प्रहरीलाई खबर गर्न १५ वर्षीया किशोरीले पटक पटक आपतकालीन टेलिफोन गरेकी थिइन् । तर प्रहरी लापर्वाहीले उनको हत्या भएको भन्दै गृहमन्त्रीले प्रहरी प्रमुखलाई नै बर्खास्त गरिदिएका हुन् ।

अपहरणमा परेकी किशोरीले तीन पटक फोन गर्दै आफुलाई कहाँ राख्न लगिँदैछ भन्ने जानकारी समेत प्रहरीलाई दिएकी थिइन् । प्रहरीले गम्भीरतापूर्वक नलिँदा अपहरणकारीले छोरीको हत्या गरेको किशोरीको परिवारको अरोप छ । प्रहरीले भने किशोरीले फोन गरेको स्थान पत्ता लगाउन नै कठिनाई भएको जिकिर गरेको छ ।

किशोरीले आपतकालीन हटलाइन सेवा ११२ मा तीन पटक फोन गरी आफुलाई एक कार चालकले अपहरण गरेको बताएकी थिइन् । बर्खास्त गरिएका प्रहरी प्रमुखका अनुसार किशोरीले ‘उ आइरहेछ, उ आइरहेछ’ भन्दै चिच्चाउँदा चिच्याउँदै उनको फोन काटिएको थियो । 

बुधवार अपहरणमा परेकी किशोरीलाई बन्दी बनाइएको आशंका गरिएको घरमा प्रहरी १९ घण्टापछि पुगेको र सर्चका लागि प्रहरीले आवश्यक नै नपर्ने वारेन्ट कुरेर बसेकामा अभियोजनकर्ता नै आश्चर्यमा परेको समाचार संस्था एपीले जनाएको छ । प्रहरीले घटनास्थलबाट मानव अवशेष फेला पारेको छ । घटनामा संलग्न रहेको आशंकामा ६५ वर्षीय एक व्यक्तिलाई पक्रेको छ ।

नेपालमा निर्मला पन्तहरु मारिइरहने तर जिम्मेवारी कसैले लिन नपर्ने !

रोमानियाको घटनामा प्रहरी प्रमुख नै बर्खास्त गरिएको यो खबर पढिरहँदा नेपालमा भने १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले देशै जुरुक्कै उठ्दा पनि कसैले नैतिक दायित्व लिन परेन ।

न त प्रहरी प्रमुख, न त गृहमन्त्री वा सरकारका प्रमुख नै यसप्रति जिम्मेवार ठानिएका छन् । बरु घटनाका दोषी पक्रेर कार्वाही गर्न ढिलाई गरिएकामा प्रश्न उठाउनेहरुमाथि नै प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म चोर औंला ठड्याएर यस्ता घटना जहाँसुकै हुने गैरजिम्मेवार जवाफ दिइरहेका छन् ।

निर्मला पन्तको हत्या भएको यो एक वर्षमा उनी जस्ता दर्जनौंको बलात्कार हत्या भएको छ तर कसैले जिम्मेवारी लिनु परेको छैन । दण्डहीनताको कहालीलाग्दो यस अवस्थाले हामी कता जाँदैछौं भन्ने त देखाउँछ नै ।