
काठमाडौं, मंसिर ५ । स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माण गर्नका लागि आर्थिक स्रोत जुटेको छ ।
अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न आर्थिक स्रोत सुनिश्चित गरिदिएको हो ।
अस्पताल निर्माणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत परिचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको मन्त्रालयले जानकारी दिएको हो ।
दुई वर्षभित्र आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार विनियोजित रकमबाट आवश्यकताअनुसारका ५, १० र १५ शैयाका अस्पताल बनाइने छ ।
यो रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा पठाइने जनाइएको छ ।
यसअघि पनि अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।
एक महिनाअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहितको बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मंसीर १५ गते भवन निर्माणको शिलान्याश गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्