
काठमाडौं, मंसिर ७ । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ ।
विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो ।
प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो ।
प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबार मात्रै स्वीकृति आएको छ ।
सो स्वीकृतिपछि सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि प्राधिकरणलाई सहज भएको छ ।
कामयमुकायम कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको आग्रहअनुसार नै स्वीकृति भएर आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कूल २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् भने २४सै घण्टा लिनुपर्नेछ ।
बाँकी भने आवश्यक पर्दा मात्रै लिए हुने खालको रहेको रहेको उहाँले जानकारी दिनुभयो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युतको माग र परिमाणको स्वीकृति दिएको हो ।
प्राधिरकणले त्यहाँको नोडल एजेन्सी एनभिभिएनमार्फत विद्युत् आयात गरिरहेको छ ।
ढल्केबरबाट आउने विद्युत् यसैमार्फत आएको हो ।
प्राधिकरणले विहार, उत्तरप्रदेशबाट पनि विद्युत् आयात गर्छ ।
विशेषगरी सुक्खायाममा बिजुलीको माग पनि बढी हुने र उत्पादन पनि कम हुने भएकाले व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य स्रोतलाई समेत प्रभावकारी परिचालन गर्नु जरुरी हुन्छ ।
पछिल्ला चार वर्षमा प्राधिकरणले माग र आपूर्तिको बीचमा सन्तुलन मिलाएर विद्युत् प्रवाह गर्दै आएको छ ।
सोही कारण प्राधिकरणको आर्थिक स्वास्थ्यमा समेत सुधार आएको छ ।
प्रतिक्रिया दिनुहोस्