
काठमाडौं, मंसिर ८ । चाडपर्वलाई लक्षित गरि सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो ।
सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेशन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो ।
सरकारले दिएका समयमा कम्पनीको लक्ष्य अनुसार सामग्री बिक्री नभए पनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ वटै बिक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ ।
काठमाडौँ उपत्यकाका पाँच स्थानसहित कम्पनीको शाखा कार्यालय रहेका जिल्लामा उक्त पसल सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीमा रहेका सामग्रीसहित साल्ट कर्पाेरेशनले दिएको चिनी बिक्री हुँदै आएको छ ।
काठमाडौँ उपत्यकाका पाँच स्थानमा राखिएको सुपथ मूल्य पसलमा साढे १० हजार क्विन्टल खाद्यान्न बिक्री भएको न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुपथ मूल्यका पसलमा सबैभन्दा धेरै चामल बिक्री भएको छ ।
खाद्य कम्पनीले समय थप गरे तापनि साल्ट ट्रेडिङ कर्पाेरेशन र दूग्ध संस्थानले समय थपको कुनै निर्णय नभएको बताएका छन् ।
कर्पाेरेशनका सूचना अधिकारी कुमारराज भण्डारीले सरकारले दिएको निर्देशनानुसार सुपथ मूल्यका पसल सञ्चालन गरिएकोे बताउनुभयो ।
सरकारले तोके अनुसार खाद्य कम्पनीले माघ २ गतेसम्म १८ रुपैयाँमा नून, ७० रुपैंयामा चिनी, ८ सय ७० रुपैयाँमा घ्यू र प्रतिकिलो पाँच रुपैयाँ छुटमा चामल, दाल, फापर, तीते फापर र सेतो केराउ बिक्री वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्