
हुम्ला, मंसिर ८ । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ ।
नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ ।
जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि सन्तोषजनक काम नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको कालिकाको नमस्टे टेलिफोन सेवाले करिब एक महिना बढीदेखि काम गर्न छोडेको छ ।
यस्तै सर्केगाड गाउँपालिकाको भदालीमा रहेको नमस्ते टेलिफोन सेवाले महिनौँदेखि काम गर्न छोडेको स्थानीय शुरबहादुर रोकायाले बताउनुभयो ।
पटकपटक मर्मतका लागि नेपाल टेलिकममा खबर गर्दा कुनै सुनुवाइ नभएको उनको गुनासो गरेको छ ।
राम्रोसँग मर्मत हुन नसक्दा जिल्लाको तल्लो क्षेत्रमा रहेको ताजाकोट, चङ्खेली, अदानचुली गाउँपालिकामा केही समय अगाडि मर्मत भएको भनिएको नमस्ते टेलिफोन सेवा फेरि अवरुद्ध भएको छ ।
विगत लामो समयदेखि हुम्लाको नमस्तेको टावरले काम नगर्दा मोबाइलमा रहेको रुपैयाँ मात्र सकिने तर फोन नहुने समस्या आएको उहाँले बताउनुभयो ।
सातवटै गाउँपालिकाभित्रका करिब ५० हजारभन्दा बढी नागरिक यो सेवाबाट बञ्चित हुनुपरेको छ ।
एक अर्कामा फोन गर्दा नसुनिने अवस्था अझैँसम्म पनि नहटेको स्थानीयको गुनासो रहेको छ ।
जिल्ला बाहिर रहेका आफन्तसँग कुरा गर्न खोज्दा पनि फोन नभएपछि विभिन्न काममा बाधा परेको चङ्खेली गाउँपालिकाका स्थानीय विष्णुभक्त जैसीले बताउनुभभयो ।
चङ्खेली गाउँपालिका मेल्छाममा रहेको नमस्तेको टावरले कात्तिक ९ गतेदेखि काम नगरेपछि सो ठाउँका करिब आठ हजार नागरिक टेलिफोन सेवाबाट बञ्चित हुनुपरेको यहाँका स्थानीयले गुनासोगरेका छन् ।
प्रतिक्रिया दिनुहोस्