१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राजश्व लक्ष्य अनुसार संकलन गर्नेलाई पुरस्कार, नगर्नेलाई दण्ड : अर्थमन्त्री पौडेल


0
Shares

काठमाडौं, मंसिर ८ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न मन्त्रालय र मातहका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयका ताल्लुक निकायका अधिकारीहरुसंग आज भएको छलफलमा मन्त्री पौडेलले कोभिडले सिर्जना गरेका चुनौतिको सामना गर्दै राजश्व सङ्कलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगरिने बताउनुभयो ।

उहाँले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट विचलित हुने कर्मचारीलगायत जो कोहीलाई पनि नछाड्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदरसहित काम गर्ने अनुकूल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताउनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

लक्ष्य पूरा भए सम्मान गर्ने पूरा नभए दण्डित गर्ने चेतावनी उहाँले दिनुभयो ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजश्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक बर्ष सर्किदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गर्नुभयो ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताउनुभयो ।