
बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् ।
बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा उत्तेजित स्थानीयवासीले तोडफोड गर्दै आगो लगाइदिएका हुन् ।
उत्तेजित भीडले आगो निभाउन आएको दमकललाई समेत बाटो छेकिदिएका थिए । परिस्थिति नियन्त्रणका लागि घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
स्थानीयवासीले बालिका हत्याको बिरोधमा महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनमा नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।
बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।
बर्दिवास नगरपालिका–१४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबार साँझदेखि बेपत्ता भएकामा सोमबार साँझ घर नजिकै उनको शव बोरामा पोको पारेको फालेको अवस्थामा फेला परेको थियो ।
बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।
बर्दिवासमा किराना पसल चलाउने अरुण साहले बालिकाको हत्या आफूले गरेको प्रहरीले जनाएको छ । स्थानीयले भने बालिकाको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्