
काठमाडौं, मंसिर ९ । रासायनिक मल ल्याउनका लागि ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजले दोस्रो पटक पनि कबोल बमोजिमको काम नगरेपछि सरकारले कार्वाही गरेको छ ।
नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीसमेत रहेका शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले योसमेत गरी सरकारलाई मल आयात प्रकरणमै दुई पटक धोका दिएको हो ।
शैलुङलाई समयसमेत थप गरिदिँदा पनि मल नल्याएकाले ठेक्का रद्ध गरी नयाँ प्रक्रिया शुरु गरेको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मल ल्याउने ठेक्का लिएर काम नगरेकामा मात्रै दोस्रो पटक दण्डित शैलुङलाई तीन पटकसम्म पत्राचार गर्दा पनि उसले कुनै जवाफसमेत नदिएको कार्कीले जानकारी दिनुभयो ।
पत्रको जवाफसमेत नदिई सम्पर्कविहीन भएपछि कम्पनीले २३ नोभेम्बर २०२० (२०७७ मंसिर ८) मा फेरि अर्को ग्लोबल टेण्डर आह्वान गरेको छ ।
३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको शैलुङले मल नल्याएको मात्र नभई सम्पर्कविहीन भएपछि ठेक्का सम्झौता रद्द गरी धरौटीबापतको ४ लाख ६७ हजार २५० डलर (पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ) जफत गरेको पनि कम्पनीले जनाएको छ ।
कात्तिक २८ गते बसेको कम्पनीको बैठकले सरकारलाई ठग्ने काममा संलग्न शैलुङलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद कार्यालयलाई आग्रह गर्दै पत्राचार गरिसकिएको पनि सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।
पहिलो पटक धानका लागि मल ल्याउन ठेक्का लिएर काम नगरेको शैलुङलाई नै कम्पनीले गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल ल्याउन पनि ठेक्का दिलाएको थियो ।
उक्त बोलपत्र अनुसार अधिकारीको कम्पनी शैलुङले कात्तिक २२ गतेभित्र मल उपलब्ध गराउने शर्तमा असार १८ गते सम्झौता गरेको कम्पनीका सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।
पहिलो ठेक्का अनुरुपको मल उपलब्ध नगराउँदा यस पटकको धान बालीमा कृषकले मल नै हाल्न पाएनन् । जसका कारण धानको उत्पादनमा समेत असर परेको छ ।
सरकारले ठेक्का रद्द गर्दै धरौटी जफत गरी कालोसूचीमा राखे पनि पछिल्लो ठेक्का अनुरुपको मल पनि आयात नगरेरै कम्पनीले अटेरी गरेको हो ।
शैलुङले मल उपलब्ध नगराएपछि बंगलादेश सरकारसँग पैंचोमा मल ल्याउने बताउँदै आएको सरकारले त्यो पनि ल्याउन नसकेपछि धानमा मल हाल्न नपाएका किसानले गहुँ र तोरी जस्ता हिउँदे बालीमा पनि मल समयमै पाउनेमा आशंका बढेको छ ।
प्रतिक्रिया दिनुहोस्