
एजेन्सी, मंसिर १० । अमेरिकामा डिसेम्बर दोस्रो साताको अन्त्यबाट कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले अमेरिकामा डिसेम्बरको दोस्रो साताबाट कोभिड–१९ को खोप प्रयोगमा ल्याइने जानकारी दिनुभएको हो ।
शुरुमा खोप जोखिमका आधारमा नसिंङ होममा बस्नेहरु, स्वास्थ्यकर्मीहरु र जोखिमयुक्त स्वास्थ्य अवस्था भएका व्यक्तिहरुलाई उपलब्ध गराइने जानकारी रेडफिल्डले दिनुभएको फक्स न्यूजले जनाएको छ ।
खोपको करिब चार करोड मात्रा डिसेम्बरको अन्तिमसम्ममा उपलब्ध हुने र यो दुई करोड व्यक्तिलाई खोप लगाउन पर्याप्त हुने उहाँले बताउनुभयो । मार्चको अन्तिमसम्ममा भने आम अमेरिकी जनताका लागि खोप उपलब्ध हुने उहाँको धारणा छ ।
फाइजरले बनाएको औषधि प्रयोग गर्न दिनेबारे छलफल गर्न डिसेम्बर १० मा खाद्य तथा औषधि प्रशासन (एफडिए) का अधिकारीहरुको बैठक आह्वान गरिएको छ ।
गत हप्ता फाइजर र जर्मनी साझेदार बायोटकले आफूले बनाइरहेको खोप ९५ प्रतिशतसम्म सुरक्षित र प्रभावकारी रहेको दाबी गरेको थियो ।
फाइजरबाहेक मोडेर्ना, ब्रिटिश कम्पनी एस्ट्राजेनकालायत कम्पनीले ल्याउने खोप पनि अमेरिकामा आउने उहाँको भनाइ छ । मोडेर्नाले पनि आफ्नो खोप करिब ९५ प्रतिशत प्रभावकारी रहेको जनाएको छ ।
एस्ट्राजेनकाले पनि आफ्नो खोप ९० प्रतिशत सुरक्षित र प्रभावकारी रहेको जनाएको छ ।
विश्वका धनी मुलुकहरु आफ्ना नागरिकलाई खोप उपलब्ध गराउने यस्ता खबर सुनिरहेका नेपाली नागरिकले भने कहिले खोप पाउँलान् भन्ने चासो बढेको छ ।
प्रतिक्रिया दिनुहोस्