८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुदूरपश्चिम प्रदेशको बजेट समिक्षा


0
Shares

काठमाडौं, मंसिर १० । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको खर्च तथा राजस्व संकलन बिवरण सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधवार धनगढीमा पत्रकार सम्मेलन गरी खर्च तथा आम्दानी सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात् २ अर्व ९ करोड ८६ लाख रुपैयाँ बराबर खर्च गरेको छ ।

बजेट खर्च र राजस्व संकलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले यस वर्ष गत वर्ष भन्दा १ दशमलव ७६ प्रतिशतले खर्च वृद्धि भएको बताउनुभयो ।

गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएकोमा यस वर्ष चालु तर्फ १ अर्व १० करोड बढी अर्थात् ६ दशमलव ६५ प्रतिशत र पूँजीगत तर्फ ९९ करोड ३८ लाख अर्थात् ५ दशमलव ९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले बताउनुभयो ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तर्फ ५ दशमलव ४० प्रतिशत र पूँजीगत तर्फ ३ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको थियो ।

प्रदेश अर्थमन्त्री बोहराले यस वर्ष चालु तर्फ १ दशमलव २५ र पूँजीगत तर्फ २ दशमलव ४१ प्रतिशतले खर्च बढी भएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्व ३८ करोड १३ लाख ५८ हजार बराबरको बजेट विनियोजन गरेको थियो ।

मन्त्री बोहोराले यस वर्ष ९० प्रतिशत भन्दा बढी बजेट खर्च हुने दावी गर्नुभयो । यस्तै राजस्व तर्फ पनि गत वर्ष भन्दा प्रगति भएको मन्त्री बोहोराले बताउनुभयो ।

चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पहिलो चौमासिकमै ४५ दशमलव ९३ प्रतिशत अर्थात् ३१ करोड ९ लाख राजस्व संकलन गरेको मन्त्री बोहराले बताउनुभयो ।