
विराटनगर, मंसिर १० । भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ ।
विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् ।
नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो ।
हिजोआज नेपालको सिमावर्ती क्षेत्रका विभिन्न पेट्रोलपम्पमा डिजेल किन्नेको भीड लाग्ने गरेको छ ।
नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु. ८७ मा बिक्री भइरहेको छ ।
भारतीय बजारको तुलनामा नेपालमा डिजेल प्रतिलिटर रु. १० सस्तो पर्छ ।
एउटा मोटरसाइकलमा चार वटासम्म ग्यालनमा डिजेल खरिद गरेर लुकिछिपी भारतीय बजारमा बेच्ने गरेको सूचना प्राप्त गरेपछि चोरी निकासी हुने स्थानमा प्रहरीले कडाइ गर्न थालेको छ ।
सोही सन्दर्भमा मोरङ प्रहरीले बुधबार बिहान विराटनगर महानगरपालिका–११ स्थित केशलिया नहर छेउमा ४३० लिटर डिजेल बरामद गरेको छ ।
भन्सार छलेर डिजेल नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला सुनसरी हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय शत्रुधन साह, सोही ठाउँका ३० वर्षीया नजाम खान र ५० वर्षीय अकवाल मियाँलाई तीन वटा मोटरसाइकलसहित पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्