
काठमाडौं, मंसिर ११ । करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ ।
नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि गतिविधिहरु सञ्चालन हुन थालेका छन् ।
लामो समयको लक डाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ ।
अहिले पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उडान गर्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।
सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न अहिले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यले अहिले ५० प्रतिशत छुट दिएपछि आन्तरिक पर्यटकको अकर्षण बढ्दो छ ।
प्रकृतिसँग रमाउनेहरुका लागि राम्रो माहौल सिर्जना भएको र व्यवस्थापन पनि चुस्त रहेको उहाँले बताउनुभयो ।
अहिले एउटा कम्पनीले प्रतिदिन दुई पटक मात्रै उडान भर्ने व्यवस्था गरिएको छ ।
समय तालिका मिलाएर उडानको अनुमति दिइएको आचार्यले बताउनुभयो ।
एकैसमयमा सबैलाई उडान अनुमति दिँदा टेकअप, ल्यण्डीङको समस्या उत्पन्न भइ दुर्घटनाको सम्भावना हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समय तालिका निर्धारण गरिएको हो ।
अहिले पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलट छन् ।
६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्