
काठमाडौं, मंसिर ११ । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ ।
६ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।
गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताउनुभयो ।
यसअघि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।
मुलुकका ७५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।
सरकारले वि.सं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो ।
भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाइन्छ ।
करीब ५२ हजार स्वयंसेविका कार्यक्रममा संलग्न छन् ।
एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाबाट बचाउन औषधि खुवाइन्छ ।
उहाँका अनुसार यस पटक जुकाको औषधि २४ लाख ८ हजार ३३० बालबालिकालाई खुवाउन थालिएको हो ।
सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६÷६७ देखि बालभिटा खुवाउन थालिएको हो ।
यस्तै बिहीबार र शुक्रबार नै बालभिटा लागू भएका ४६ जिल्लामा पनि क्याप्सुल खुवाउन थालिएको छ ।
रक्तअल्पता हुनबाट जोगाउनका लागि बालभिटा खुवाउने गरिन्छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइन्छ ।
हरेक वर्ष सरकारले निःशुल्करूपमा भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत जुकाको औषधि र बालभिटा खुवाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्