१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दिबास घटनामा सुरक्षाकर्मीद्वारा अत्यधिक बल प्रयोगः एम्नेष्टी इन्टरनेशनल नेपाल


0
Shares

काठमाडौं, मंसिर ११ । महोत्तरीको बर्दिबासमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ ।

मंगलबार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु र अरु दुईजना गम्भीर घाइते भएका थिए ।

उक्त घटनाका सम्बन्धमा एम्नेष्टी नेपालका निर्देशक निराजन थपलियाले भन्नुभयो, ‘नेपालमा प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीहरूद्वारा मृत्यु र गम्भीर घाइते हुनेगरी प्रदर्शनकारीमाथि बलको अत्यधिक प्रयोग गरेको यो अर्को घटना एकदमै चिन्ताजनक छ ।’

घटना छानबिन गरी दोषीलाई कार्वाही गर्न पनि थपलियाले माग गर्दै भन्नुभएको छ, ‘यो घटनाको तत्काल छानबिन गरिनुपर्दछ र यसमा जिम्मेवारलाई जवाफदेही बनाउने कुरा सुनिश्चित गर्नका लागि आवश्यक कदम चालिनु पर्दछ । कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले बलको प्रयोगसम्बन्धी सिद्धान्तलाई पालना गर्नुपर्दछ जसअनुसार कम जोखिमयुक्त बल प्रयोगका माध्यमहरू अव्यवहारिक भएको अवस्थामा मात्रै बन्दुकको प्रयोग गर्न मिल्छ र यस्तो बल सक्दो कम प्रयोग गर्नुपर्दछ ।’

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा सोमबार ६ वर्षीया एक बालिकाको शव फेला परेको थियो । प्रारम्भिक छानबिन अनुसार बालिकालाई बलात्कार गरेर हत्या गरिएको देखिएको प्रहरीले जनाएको थियो ।

हत्याका संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा दोषीलाई कार्वाहीको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका थिए । आक्रोशित भीडले अभियुक्त साहको घरमा आगजनी नै गरिदिएको थियो ।

सोही क्रममा प्रदर्शनकारी र प्रहरबीच झडप भएको थियो । प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २२ सेल अश्रु ग्याँस प्रयोग गर्नुका साथै भिडमाथि गोली प्रहार गर्दा घटनामा तीन जना गम्भीर घाइते भएका थिए । जसमध्ये एक जनाको मृत्यु भएको थियो ।