
काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले भेटवार्ता गर्नुभएको छ ।
आजै काठमाडौं आउनुभएका श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा विदेश सचिव श्रृंगलाले भारत सरकारले उपलब्ध गराउने कोभिड–१९ को सहयोग पनि मन्त्री ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो ।
यसअघि, नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको थिाये । काठमाडौंको होटल याक यण्ड यतिमा सम्पन्न बैठक दुई देशबीचका समस्या समाधान गर्न सकारात्मक भएको बताइएको छ ।
सचिवस्तरीय बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले राम्रो शुरुवात भएको भन्दै दुई देशबीचका समस्या समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

बैठकमा नेपाल पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय पक्षको नेतृत्व भारतका विदेश सचिव श्रृंगलाले गर्नुभएको थियो । दुईपक्षीय वार्ताअघि दुई सचिवबीच एक्लाएक्लै वार्ता भएको थियो ।
बैठकपछि परराष्ट्र मन्त्रालयले ट्वीट मार्फत दुई पक्षबीच एकदमै सौहार्दपूर्ण वातावरणमा छलफल भएको जनाएको छ ।
वार्ताका एजेण्डाहरु एकदमै बृहत्त रहेको र आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको उल्लेख छ ।
परराष्ट्र सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव श्रृंगला आजै काठमाडौ आउनुभएको हो । विदेश सचिव श्रृंगलाको भ्रमणसँगै नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि औपचारिक वार्ता भएको हो ।
नेपाल–भारत दुबैले नयाँ नक्शा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता फेरि शुरु गर्न भारतीय विदेश सचिव श्रृंगला नेपाल आउनु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्