१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले दियो परराष्ट्र मन्त्रीस्तरीय वार्ताको लागि नेपाललाई निम्तो


0
Shares

काठमाडौं, मंसिर १२ । भारतले परराष्ट्र मन्त्रीस्तरीय वार्ताका लागि नेपाललाई निम्तो दिएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि निम्तो दिनुभएको हो ।

भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाली समकक्षीलाई बैठकका लागि पठाएको निमन्त्रणा हस्तान्तरण गर्नुभएको हो ।

विदेश सचिवले श्रृंगलाले नयाँ दिल्लीमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकरले पठाउनु भएको निम्तो ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको हो ।

यद्यपि, कुन मितिमा बैठक हुने भन्नेचाहिँ टुंगो भइनसकेको जनाइएको छ । द्विपक्षीय विषयमा छलफल गरी समस्या समाधान गर्ने र अत्यावश्यकीय विषयहरुमा निर्देशन दिने म्यान्डेट आयोगको रहेको छ ।

पछिल्लो पटक उक्त आयोगको बैठक दुई वर्षअघि सन् २०१८मा भएको थियो । त्यसअघि सन् २०१६ र २०१४ मा बसेको थियो ।

विदेशसचिव श्रृंगलाको यस भ्रमणमा विभिन्न कारणले रोकिएका द्विपक्षीय संयन्त्रका बैठकहरु सुचालु गर्ने सहमति पनि बनेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुई देशका बीचमा व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार निर्माण लगायतका विषयमा कुराकानी भएको छ । सीमा विवाद समाधान गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।

गत वर्ष भारतले नेपालको लिम्पियाधुरासहितको क्षेत्र समेटेर नक्शा प्रशासन गर्नेदेखि कालापानी क्षेत्रमा नेपाली भूभाग अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालले पनि लिम्पियाधुरासहितको क्षेत्र समेटेर नक्शा जारी गरेको छ ।

यसैका कारण दुई देशबीच करिब डेढ वर्षदेखि सम्बन्ध बिग्रँदै जाँदा दुई देशबीच हुनुपर्ने नियमित संवादका श्रृंखलाहरु रोकिएका छन् ।