
काठमाडौं, मंसिर १२ । सडक विभागले देशभरका मुख्य राजमार्गमा ३ हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडकमा मर्मत गर्न लागिएको हो ।
आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ ।
सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएका मर्मत चाहिने सडक छनोट गरिनेछ ।
सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो ।
सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताउनुभयो ।
सामान्यतया सडक निर्माण गरिएको पाँच/छ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ ।
कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो ।
अहिले मर्मत गर्न लागिएकामा मुग्लिन–नागढुङ्गा सडक, कमला–ढल्केबर सडकलगायत छन् ।
गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ ।
यसको लागत झण्डै ८ अर्ब रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्