
काठमाडौं, मंसिर १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको दावी गर्नुभएको छ ।
नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताउनुभयो ।
तरपनि युरोपियन आकाशमा भएको प्रतिवन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उहाँको भनाई छ ।
त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुइ भागमा विभाजन गरी दुईवटा संगठन बनाउने प्रक्रिया अगाडि बढीसकेको मन्त्री भट्टराईले बताउनुभयो ।
कोभिडको व्यापक संक्रमण भएको अवस्थामा पनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको दावी समेत मन्त्री भट्टराईले गर्नुभयो ।
नियमित उडान बन्द गरिएपनि एयरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उहाँको भनाई छ ।
अहिले पनि केही अन्तर्राष्ट्रिय गन्तव्य बाहेक नेपाले विगतमा नियमित उडान गरेका गन्तव्यमा नेपालको तर्फबाट खुल्ला गरिएको पनि बताउनुभयो ।
प्राधिकरणले सार्वजनिक गरेको सेफ्टी रिपोर्ट अनुसार नेपालमा हवाई उड्डयनमा दुर्घटना कम हुँदै गएको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्लो तीन वर्षमा वार्षिक १ वटा दुर्घटना भएको र मानविय क्षति समेत कम भएको बताउनुभयो ।
हवाई उड्डयनलाई सुरक्षित बनाउन आइकाओको एभिएसन सेफ्टी रिपोर्ट अनुसार प्रोएक्टिभ अवधारणा र रिएक्टिभ अवधारणा अनुसार सेफ्टी रिपोर्ट तयार पारिएको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्