
पोखरा, मंसिर १४ । कोरोना संक्रमितको उपचारमा भेन्टिलेटरको अभावले संक्रमितको मृत्यु भएका बेला पोखरामा अन कल भेन्टिलेटर सेवा सुरु भएको छ ।
काठमाडौंको नेपाल भेन्टिलेटर सर्भिसको सहकार्यमा नेपाल भेन्टिलेटर सर्भिस कास्की गठन भएसँगै आजदेखि सेवा सुरु भएको हो ।
संस्थाले हाल १ भेन्टिलेटरसहित हाइफ्लोज नोजल क्यानेला जुटाई सेवा सुरु गर्दैछ ।
संस्थाका कास्की अध्यक्ष विश्वशंकर पालिखेले भेन्टिलेटर जोहो गर्न सरकारी संयन्त्र सुस्ताएका बेला सेवाभावको उद्देश्यसाथ आफूहरुले पोखरा भेन्टिलेटर सर्भिस स्थापना गरेको जानकारी दिनुभयो ।
यस कार्यका लागि सरकारी निकायसँग सहकार्यको अपेक्षा गरेको तर भर भने नपरेको पनि पालिखेको भनाइ छ ।
संस्थाले ल्याएका ती उपकरण हाल मेडिप्लस अस्पतालमा राखिएको छ ।
जुन अस्पतालमा कोरोना संक्रमितका लागि भेन्टिलेटरको अभाव हुन्छ, त्यहाँ तत्काल संस्थाको भेन्टिलेटर र अन्य उपकरण उपलब्ध गराइनेछ ।
संस्थाका अनुसार भेन्टिलेटर प्रयोग गरेवापत् सरकारी अस्पतालले १ हजार रुपैयाँ, सामुदायिक अस्पतालले २ हजार, निजी अस्पतालले ३ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
त्यस्तै क्यानेला प्रयोगवापत् निजी अस्पतालले ७ सय रुपैयाँ, सामुदायिकले ५ सय र सरकारीलाई ३ सय रुपैया शुल्क लिइने संस्थाका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।
भेन्टिलेटर सर्भिस कास्कीले हाल एउटा मात्रै भेन्टिलेटर आफूहरुसँग भए पनि यसलाई १० वटासम्म पुर्याउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्