
काठमाडौं, मंसिर १४ । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्वीकार गरेको छ ।
सरकारका प्रवक्ता, सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरूङले आइतबार पत्रकार सम्मेलन गरी प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको भन्दै सरकारले अस्वीकार गर्ने बताउनुभएको हो ।
प्रतिवेदन खोज अनुसन्धानविनै मनोगत धारणाबाट आएको उहाँको भनाइ छ ।
प्रतिवेदन सरकार र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीप्रति भ्रम छर्ने खालको भएकोले अस्वीकार गर्ने मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
तीन करोड जनसंख्यामा एक हजार जनालाई टेलिफोनबाट सोधेको आधारमा प्रतिवेदन तयार पारिएको उहाँको आरोप छ ।
मन्त्री गुरुङले प्रतिवेदन विरोधीलाई सोधेर तयार पारेको आरोपसमेत लगानुभयो ।
प्रतिक्रियावादीहरूको चलखेलमा यस्तो प्रतिवेदन तयार भएको हुनसक्ने दाबीसमेत उहाँले गर्नुभयो ।
सरकार विरुद्धका मिसनका रुपमा लागेर नेपाली जनता र सरकारलाई बदनाम गर्ने र सरकारप्रति वितृष्णा फैलाउने काम भएको उहाँको आरोप छ ।
ट्रान्सपरेन्सीको नेतृत्वकर्ता नै फरक राजनीतिक पृष्ठभूमि र राजनीतिक ब्राण्ड भएको व्यक्ति भएकाले पनि प्रतिवेदनमा शंका गर्ने ठाउँ रहेको मन्त्री गुरुङले दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्