१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन् २०२२ मा नेपालमा पर्यटनको गति दौडने छः पर्यटनमन्त्री भट्टराई


0
Shares

minister yogesh bhattarai the forest front resort

चितवन, मंसिर १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटन उद्योग दौडने विश्वास व्यक्त गर्नुभएको छ ।

कोारेनाले थलिएको पर्यटन उद्योग विस्तारे खुल्न थालेको भन्दै उहाँले सन् २०२१ को मध्यसम्ममा हिड्न थाल्ने र २०२२ मा दौडको गति पक्रने उहाँले बताउनुभयो ।

रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ रिसोर्टको शिलन्यास गर्नुहुँदै उहाँले विगत वर्षभन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने विश्वास पनि व्यक्त गर्नुभयो ।

लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने भन्दै मन्त्री भट्टराईले भन्नुभयो, ‘सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।’

सन् २०२१ भरी स्वदेशी पर्यटक परिचालनको नीति सरकारले लिने भन्दै उहाँले अहिले नै महत्वपूर्ण पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटकको चहलपहल शुरु भइसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना संक्रमणका कारण श्रमबजार तहसनहस भएकाले देशभित्रै सम्भावनाहरु खोज्नु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा गएकाले पनि रोजगारी गुमाएर फर्कनुपर्ने अवस्था छ ।’ विदेशबाट रोजगार गुमाएर फर्किएकालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो ।

देशभित्र रोजगारी सृजना गर्न नसक्दा वर्षेनी रोजगारीका लागि विदेश गएका ६ सयभन्दा बढी युवाको शव आउने गरेको तीतो यथार्थ सहनु परेको उहाँले उल्लेख गर्नुभयो ।

एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईलगायतले नयाँ खोल्ने रिसोर्ट रोजगारी सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

केटिएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले करिब २५ करोडको लगानीमा द फरेष्ट फ्रन्ट निर्माण गर्न लागिएको जानकारी दिँदै रिसोर्टको ३४ कोठामा ६५ बेड हुने र यो सन् २०२२ बाट सञ्चालनमा ल्याइने बताउनुभयो । १२ कट्ठा १० धुर क्षेत्रफलमा रिसोर्टमा अत्याधुनिक सबै सेवा रहने उहाँले जानकारी दिनुभयो ।