
एजेन्सी, मंसिर १५ । ब्रिटेनका क्लिनिकहरूमा महिलाहरूलाई विवादास्पद ‘कुमारीत्व परीक्षण’ सेवा उपलब्ध गराइने गरेको बीबीसीले जनाएको छ ।
बीबीसी न्यूजबीट तथा १०० विमिनले पत्ता लगाएको भन्दै बीबीसीमा आएको समाचारमा यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनीको झिल्ली दुरुस्त छ कि छैन भनेर हेर्ने गरिएको उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ र संयुक्त राष्ट्रसंघले व्यक्तिको निजत्व हनन हुने यस्ता परीक्षणलाई मानवअधिकारको उल्लंघन भएकाले प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएका छन् ।
यस्ता अवैज्ञानिक परीक्षणबाट कोही कुमारी हो कि होइन भन्ने प्रमाणित गर्न नसकिने बरु परीक्षणका नाममा शोषणको हतियार हुनसक्ने आलोचकहरुले बताउने गरेका छन् ।

बीबीसीले गरेको अनुसन्धानमा कतिपय निजी क्लिनिकहरूले ‘कुमारीत्व मर्मत’ गर्ने विज्ञापन समेत गरेको उल्लेख छ । तिनलाई सम्पर्क गर्दा १५० देखि ३०० पाउण्डमा यस्ता ‘सेवा’ उपलब्ध हुने बताएको बीबीसीले जनाएको छ ।
बीबीसीले २१ वटा क्लिनिक पहिचान गरी १६ वटासँग सम्पर्क गर्दा सात वटाले ‘कुमारीत्व परीक्षण’ गर्ने गरेको पुष्टि गरेको उल्लेख गरेको छ ।
सबैले झिल्ली मर्मत गर्न शल्यक्रिया गर्ने गरेको यस वापत १५ सयदेखि ३ हजार पाउण्डसम्म पर्ने बताएका थिए ।
गत पाँच वर्षमा झिल्ली मर्मत गर्न त्यस्ता ६९ शल्यक्रिया भएका राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस इग्ल्याण्डले नै जनाएको छ ।
बाध्यतापूर्वक गरिने विवाहका पीडितहरूको सहयोगमा संलग्न परोपकारी संस्था कर्मा निर्भानाले सहयोग गरेको एकजना महिलाको भनाइलाई उधृत गर्दै बीबीसीले परिवारको दबाबका कारण एक जनाले परिवार नै त्याग्नु परेको उल्लेख गरेको छ ।
कर्मा निर्भानाको हेल्पलाइनमा काम गर्ने प्रिया मनोटाले आफूहरुकहाँ यस्ता समस्यामा परेका महिलाको फोन आउने भन्दै कतिपय महिलाले आफ्नो सम्बन्ध रहेको र आफू कुमारी नरहेको परिवारले थाहा पाएकाले समस्यामा रहेको बताउने गरेको जानकारी दिइन् ।
परिवारले कुमारीत्व परीक्षण गराउन खोजेको र त्यसको परिणामबाट आफू चिन्तित भएको ती महिलाहरुको भनाइ छ । केही घटनामा त पीडित महिलाको ज्यान नै पनि जाने गरेको बताइएको छ ।
डब्लूएचओ अनुसार कुमारीत्वको परीक्षण कम्तीमा २० देशमा गर्ने गरिएको छ । तर यस्ता परीक्षणले कुनै किशोरी वा महिलाले यौनसम्बन्ध राखिसकेको हो वा होइन भन्ने कुनै पुष्टि हुने प्रमाण नदिने डब्लूएचओले प्रष्ट गरेको छ ।
योनीको झिल्ली ट्याम्पनको प्रयोग वा कसरतजस्ता अन्य विभिन्न कारणले पनि च्यातिने हुँदा यस्ता परीक्षण मानवअधिकारको हनन हुने ती संस्थाको भनाइ छ ।
यसैबीच बीबीसीले अनलाइनमा झिल्ली मर्मत गर्ने सामग्री बिक्री हुने गरेको फेला पारेको भन्दै कुमारीत्व पुनस्र्थापित गर्ने दाबीका साथ ती सामग्री ५० पाउण्डमा बिक्रीमा राखिएको उल्लेख गरेको छ ।
करिब १०४ पाउण्डमा किनिएको एउटा त्यस्तो सामग्री जर्मनीबाट आइपुग्यो । त्यो किटमा जेल, प्लास्टिकका ट्वीजर अनि नक्कली रगतजस्तो लाग्ने तीन पोका थिए । तर कसरी प्रयोग गर्ने भन्ने विवरण थिएन, बीबीसीको भनाइ छ ।
स्त्रीरोग विशेषज्ञ डा. अस्फाक खानले आफूकहाँ कुमारीत्व परीक्षण गराइदिने तथा झिल्ली मर्मत गराइदिने अनुरोध नियमित आउने गरेको बताउनुभएको छ । उहाँले यसलाई यूकेमा प्रतिबन्ध लगाइनुपर्ने पनि बताउनुभयो । उहाँ यसलाई अपराधका रुपमा लिनुहुन्छ । नैतिकरूपमा पनि गलत मान्नुहुन्छ । –बीबीसीबाट ।
प्रतिक्रिया दिनुहोस्