
काठमाडौं, मंसिर १७ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ ।
बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको हो ।
बैंक तथा वित्तीय संस्थामा यतिबेला एक खर्ब ८६ अर्ब रुपैयाँ हाराहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकको अनुमान छ ।
अधिक तरलता भएपछि केन्द्रीय बैंकले २८ दिनका लागि बैंकहरुबाट ५० अर्ब तरलता उठाउन लागेको हो ।
आज केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट संकलन गर्न लागेको जनाएको छ ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित संकलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ ।
यसले तरलता व्यवस्थापनमा केही हदसम्म सघाउ पुग्ने बैंकर्स संघका अध्यक्ष्य भुवन दाहाल बताउनुहुन्छ ।
यसैबीच दसै तिहारलगायतका चार्डपर्व सकिएलगत्तै बैंकहरुको कर्जा लगानी उत्साहप्रद देखिएको छ ।
मंसिरको दुई साताभित्र बैंकहरुको कर्जा प्रवाह १४ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
नेपाल बैंकर्स संघका अनुसार मंसिरको दोस्रो सातासम्म कर्ज प्रवाहमा वृद्धि भएर ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।
२७ वटा वाणिज्य बैंकहरुबाट असोजदेखि हालसम्म १ अर्ब ६३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ ।
गत असारसम्म यस्तो कर्जा कुल २९ खर्ब ३ अर्ब रुपैयामा सीमित थियो ।
कोरोना महामारीका कारण सीमित क्षेत्रमा मात्र कर्जा प्रवाह भएकोमा हाल विभिन्न पूर्वाधारहरुको निर्माण कार्य तीव्र रुपमा अघि बढेकाले कर्जा प्रवाह समग्रमा उत्साहजनक रहेको संघको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्