
काठमाडौं, मंसिर १७ । सरकारले कोरोना (कोभिड१९) संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो ।
गत सोमबार देखि शुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरिक्षक कोशलचन्द्र सुवेदीले काठमाडौं उपत्यका भित्रका बढी संक्रमण देखिएका ६ वटा वडामा ३ हजार नमुना लिएर परीक्षण गर्न लागिएको बताउनुभयो ।
मन्त्रालयबाट स्वीकृत भए अनुसार ५ सय भन्दा बढी संक्रमित भएका क्षेत्रहरुमा एन्टिजिन मार्फत परीक्षण गरिनेछ ।
जसअनुसार सक्रिय संक्रमितहरुको नजिकमा रहेकाहरुको मात्रै परीक्षण गरिनेछ ।
यो विधि अन्तर्गत पीसीआर परीक्षणका लागि नमुना लिए जस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिने छ र किटमा राखेर आधा घण्टामै रिपोर्ट प्राप्त गर्न सकिने छ ।
महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) बाट प्रमाणित भइसकेकोले एन्टिजिन परीक्षणलाई विश्वसनिय मानिएको बताउनुभयो ।
नेपालमा अहिलेसम्म कोभिड संक्रमणको पहिचान गर्न पीसीआर विधि मात्र भएको अवस्थामा कम लागत र कम समयमा एन्टिजिन परीक्षण गर्न लागिएको बताउनुभयो ।
एन्टिजिन परीक्षण गरिसकेपछि पीसीआर परीक्षण गर्न नपर्ने पनि उहाँले बताउनुभयो ।
पछिल्लो समय उपत्यकामा संक्रमण दर बढ्दै गएको छ ।
यस्तो अवस्थामा एकैपटक समुदायमा परीक्षण गर्नुपर्ने अवस्थामा एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोग गरिने पनि महाशाखाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्