
तनहुँ, मंसिर १८ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गर्नुभएको छ ।
बुधबार पुल उद्घाटन गर्न जाँदा प्रहरी धरपकडमा पर्नुभएका पौडेलले अन्ततः बिहीबार व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गरेरै छाड्नु भएको हो । पौडेलले रिवन काटेर पुल उद्घाटन गर्नुभयो ।
पौडेलले पुल उद्घाटन गर्ने भएपछि त्यसको विरोधमा बुधबार नेकपा कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए भने उद्घाटन रोक्न कै लागि स्थानीय प्रशासनले निषेधाज्ञासमेत लगाएको थियो ।
प्रशासनको निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिई तीन घण्टापछि मात्र छाडेको थियो । प्रहरी धरपकडका कारण आफ्नो करङको हाड नराम्ररी दुखेको पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।
बिहीबार भने पौडेल कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुग्नुभएको थियो । कांग्रेस कार्यकर्ताले भने बुधबारको प्रहरी व्यवहारप्रति विरोध गर्दै नाराबाजीसमेत गरे । उनीहरूले प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गरे ।
पुल उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेता पनि सहभागी हुनभएको थियो ।
उक्त पुल आफ्ना नेताको हातबाट उद्घाटन गर्न पाउनुपर्ने माग गर्दै नेकपा कार्यकर्ताले पौडेलको विरोध गरेका थिए ।
२०७३ सालमा बनाउन शुरु गरिएको पुल २०७५ सालमा निर्माण सम्पन्न भए पनि दुई वर्षपछि उद्घाटन गर्न खोज्दा रडाको मच्चिएको हो ।
प्रतिक्रिया दिनुहोस्