१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालसँग मिलेरै अगाडी बढ्छौंः भारतीय विदेशमन्त्री जयशंकर


0
Shares

S Jya Shanker Indain foreign minister

एजेन्सी, मंसिर १८ । भारतका विदेशमन्त्री एस जयशंकरले भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेको बताउनुभएको छ ।

भारतीय अंग्रेजी दैनिक दि हिन्दूसँगको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले विगतमा नेपालसँग केही समस्या र असमझदारी भए पनि पछिल्ला केही साता दुबै देशबीच समझदारी विकास हुँदै गएको बताउनुभयो ।

सीमा विवादका कारण लामो समयदेखि संवादहीन रहेका दुई मुलुकबीच पछिल्लो समय औपचारिक वार्ता थालनी भएको छ ।

जयशंकरले छिमेकीहरुबीच समस्या हुनु सामान्य भन्दै अधिकांश छिमेकीमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेकाले समेत विवाद देखिने गरेको बताउनुभयो ।

समस्या समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने मुख्य प्रश्न भएको उहाँको भनाइ छ ।

भारतीय विदेशमन्त्री जयंशकरले नेपालको संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबीचको सम्बन्धबारे निष्कर्षमा पुग्न नहुने बताउनुभयो ।

भारतले नेपालले नयाँ संविधान जारी गर्दा विरोध जनाएको थियो । संविधानमा आफ्नो सुझाव समेट्न दबाब दिन त्यतिबेला विदेश सचिव रहेका जयशंकर नै काठमाडौं आउनुभएको थियो ।

तर नेपालले भारतीय दबाबको बेवास्ता गर्दै संविधान जारी गरेको थियो । त्यसपछि भारतले ६ महिनासम्म अघोषित नाकाबन्दी लगाउँदा नेपाली जनताले दुःख पाउनुका साथै अर्थतन्त्रमा ठूलो असर परेको थियो ।