
चितवन, मंसिर १८ । गत दुई वर्ष चाहेर पनि गणना हुननसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ ।
नेपालमा गैँडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि बजेट स्वीकृति भइसकेको छ ।
गैँडा गणना गर्न विभागले रु. ८० लाख बजेट विनियोजन गरेको छ ।
वि.सं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको थियो ।
त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन सकेको थिएन ।
गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड –१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो । सूचना अधिकारी आचार्यले यस वर्ष गणना गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै तयारी गत वर्ष नै गरिएको छ । यद्यपि गणकको तालीमलगायत काम पुनःगर्नुपर्ने हुन्छ ।
जाडो महिना सकिएर घाँस सुकेपछि जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ ।
गतवर्ष लामो समयसम्म वर्षा भएर घाँस नसुकेका कारण गणनामा ढिलाइ भएको थियो ।
त्यति नै बेला कोभिड –१९ का कारण लकडाउन भएपछि गणना स्थगित गरिएको थियो ।
सूचना अधिकारी आचार्यले फागुनदेखि वैशाखसम्मको समयलाई गणनाको लागि उपयुक्त हुने बताउनुभयो ।
त्यसपछिको समय हावाहुरी, बढी गर्मीलगायतका कारण उपयुक्त मानिदैन ।
नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा रहेका छन् ।
सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।
चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बतताउनुभयो ।
अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने उहाँको भनाइ छ ।
चितवनमा गणनाका लागि आवश्यक सामग्री व्यवस्थापनको प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो ।
पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो ।
चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरी ६४५ गैँडा थिए ।
प्रतिक्रिया दिनुहोस्