
काठमाडौं, मंसिर १८ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सेमेष्टर प्रणालीको परीक्षा अवधि घटाइने भएको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएसँगै व्यवस्थापन संकायको डीन कार्यालयले परीक्षा अवधि घटाउने तयारी गरेको हो ।
पहिले तीन घण्टाको अवधि रहेको स्नातक तहको परीक्षा डेढ घण्टा र चार घण्टाको अवधिको स्नातकोत्तर तहको परीक्षा दुई घण्टामा गराइने भएको छ ।
जसको लागि प्रश्नपत्रको मोडालिटी समेत परिवर्तन गरिएको छ ।
६ /६ महिनाको अवधिमा हुँदै आएको सेमेष्टर प्रणालीको परीक्षा कोरोना संक्रमणको जोखिमका कारण ९ महिनासम्म रोकिएका छन् ।
आगामी २८ गतेबाट रोकिएका परीक्षा सुचालु गर्ने परीक्षा तालिका छ ।
शैक्षिक सत्र खेर जान नदिन परीक्षा र कक्षा सञ्चालन समानान्तर अघि बढाइने छ डीन कार्यालयको भनाइ छ ।
व्यवस्थापन संकायको डीन कार्यालय अन्र्तगत सेमेष्टर प्रणालीमा स्नातक तहमा २५ हजार र स्नातकोत्तर तहमा २८ हजार गरि ५३ हजार विद्यार्थी अध्ययनरत छन् ।
स्नातकोत्तरका तेह्र ओटा कार्यक्रम र स्नातक तहमा नौ ओटा कार्यक्रम सञ्चालन भइरहेको छ ।
सेमेस्टर प्रणालीलाई पूर्ववत् कार्यतालिकामा फर्काउन करिब २ वर्ष लाग्ने त्रिविले जनाएको छ ।
तर, त्रिवि परीक्षा नियन्त्रण कार्यालय अन्र्तगतका वार्षिक परीक्षा हुने कार्यक्रममा भने परीक्षा अवधि घट्ने छैन ।
यस अघि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि पनि समयावधि घटाएर परीक्षा सम्पन्न गरेको थियो ।
यस पटक ४० पूर्णाङ्कको मात्र लिखित परीक्षा लिएकाले समय घटाएर डेढ घण्टा बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्