
काठमााडौं, मंसिर १८ । राष्ट्रपति विद्या भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग अलग अलग भेटवार्ता गर्नुभएको छ ।
बिहान प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएका राष्ट्रपति भण्डारीलाई भेट गर्न अर्का अध्यक्ष दाहाल भने साँझ शितलनिवास छिर्नुभएको थियो ।
पार्टीभित्र अध्यक्षद्वयबीच आरोप प्रत्यारोपको पत्रयुद्ध मच्चिएका बेला राष्ट्रपति कार्यालय शितलनिवासमा बोलाएर भण्डारीले दुबैलाई मिलेर जान सुझाउनु भएको हो ।
नेकपाभित्र आन्तरिक सत्ता संकट बल्झिएका बेला प्रत्येक पटक राष्ट्रपति भण्डारीले हस्तक्षेप गरेरै समाधान खोज्ने गरेकाले यस पटक पनि त्यसकै पहलका लागि दुबै अध्यक्षलाई बोलाइएको हुने नेकपा कै एक नेता बताउँछन् ।
यतिबेला नेकपामा अध्यक्षद्वयबीच पत्रारोप चलिरहेको छ भने आ–आफ्ना कुण्ठा पोको पारेका कागजका पुलिन्दालाई राजनीतिक दस्तावेजको मल्हम लगाउँदै बहसमा ल्याइएको छ ।
नेकपाको सचिवालय बैठकमा बहुमत सदस्य ओलीविरुद्ध उभिएका छन् र उनीहरु ओलीविरुद्ध दाहालले ल्याएको प्रतिवेदन र दाहालको प्रतिवेदनलाई लेखेको ओलीको जवाफी पत्र दुबैमा छलफल चलाएर निचोड निकाल्नुपर्ने पक्षमा छन् ।
प्रधानमन्त्री ओली भने दुबै प्रतिवेदनमा छलफल जरुरी नरहेको भन्दै बुधबारको बैठकमै उपस्थित हुन भएन । बुधबार औपचारिक बैठक हुन नसकेपछि २० गते बस्ने गरी सचिवालय बैठक स्थगित गरिएको छ ।
यही बीचमा ओली र दाहाललाई मेल गराउने प्रयासहरु घनिभूत रुपमा चलेको हो ।
प्रतिक्रिया दिनुहोस्