२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपामा दाहाललाई मनाउने प्रयास तीब्र, शीतल निवासदेखि खुमलटारसम्म उपप्रधानमन्त्री पोखरेलको दौडाहा


0
Shares

Ishwor pokhrel nepal army defence ministry

काठमाडौं, मंसिर १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पत्रारोपको जुहारी चलेपछि बिग्रेको सम्बन्ध सुधार्न प्रयास तीब्र बनाइएको छ ।

पछिल्ला दिनमा सचिवालयका बहुमत सदस्यले आफूलाई किनारामा पार्ने देखेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफैमाथि आरोपको वर्षा गर्ने अर्का अध्यक्ष दाहाललाई फकाउन घनिभूत प्रयास थाल्नुभएको हो ।

दाहाललाई फकाउनकै लागि राष्ट्रपति विद्या भण्डारीसँग हारगुहार गर्नेदेखि सचिवालयका आफू पक्षीय नेताहरुलाई परिचालन गरिरहनुभएको छ ।

यसैक्रममा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रवार विहानैदेखि दाहाललाई फकाउन लाग्नुभएको छ ।

पोखरेल प्रधानमन्त्री निवास बालुवाटार, दाहाल निवास खुमलटार हुँदै राष्ट्रपति निवास शितलनिवासको दौडाहा हुनुहुन्छ । बिहान पार्टी अध्यक्ष दाहालसँग भेट गर्नुभएको पोखरेल दिउँसो भने राष्ट्रपति कार्यालय शितलनिवास जानुभएको हो ।

पार्टीभित्रको झगडामा प्रधानमन्त्री ओली पक्षमा रहनुभएका पोखरेल दाहाललाई बेलाबखत सैद्धान्तिक बहसमा चुनौति दिने नेतासमेत मानिनुहुन्छ । खासगरी नेकपामा जबज नै पार्टी लाइन हुनुपर्ने उहाँको मत रहेको छ ।

ओली र दाहालबीच वारपारको संघर्ष देखिएका समयमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले पनि दाहाललाई नै साथ दिनुभएको छ ।

वामदेव गौतम र नारायण्काजी श्रेष्ठ पनि ओलीको विपक्षमा रहेकाले मंसिर २० गते बोलाइएको सचिवालय बैठकमा ओलीले कि त बहुमतको निर्णय मान्नुपर्ने, कि त आफ्नो रणनीति तयार पार्नुपर्ने देखिन्छ ।

यस्तोमा उहाँले आफूनिकट नेताहरुलाई दाहाललाई मनाउन खटाउनुभएको हो । दाहालसँगको भेटमा पोखरेलले दुबै अध्यक्षको प्रतिवेदन फिर्ता लिएर साझा प्रस्ताव तयार गर्न आग्रह गर्नुभएको थियो ।

बिहीबार पनि ओलीले आफूनिकटका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई दाहाललाई मनाउन खुमलटार पठाउनुभएको थियो । दुबै जनाले दुई अध्यक्ष मिलेर जाँदा मात्र समस्याको समाधान हुने बताउनुभएको थियो ।

ओलीले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घण्टा छलफल गर्नुभएको थियो भने साँझ दाहालले पनि भण्डारीसँग भेट गर्नुभएको थियो । नेकपाको आन्तरिक पार्टी संघर्षमा राष्ट्रपति भण्डारीबाट ओलीका पक्षमा हस्तक्षेप गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा दाहालले पेश गरेका राजनीतिक प्रतिवेदनलाई लाञ्छना पत्रको संज्ञा दिँदै ओलीले मंसिर १३ गते प्रत्युत्तर दिनुभएको थियो । दुबै नेताले एकार्कामा सक्दो आरोप प्रत्यारोप गर्नुभएको छ ।

दाहालसहितका बहुमत सचिवालय सदस्य दुबै प्रतिवेदनमाथि छलफल गरेर निचोड निकाल्नुपर्ने पक्षमा रहँदा प्रधानमन्त्री ओली र उहाँ पक्षधरले प्रतिवेदनमा छलफलको औचित्य नभएको बताउने गरेका थिए । तर पछिल्लो पटक भने ओली पक्ष दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउने बाटोमा पुगेका छन् ।