
काठमाडौं, मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले दुई मुलुकबीच संवादहीनताको अवस्था अन्त्य भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँग औपचारिक संवादको ढोका खुलेको बताउनुभएको हो ।
विदेश सचिवको नेपाल भ्रमणमा सीमासम्बन्धि समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तीमा समेत उल्लेख गरिएको उहाँको भनाइ छ ।
नेपालले जुन उचाईबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो, त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको भन्दै उहाँले नेपाल र भारतबीच रहेका सीमा विवाद लगायतका सबै विषयमा छलफल हुने बाटो खुलेको बताउनुभयो ।
व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको र त्यसलाई भारत सरकारले पनि स्वीकारेको उहाँको भनाइ थियो ।
‘रअ’ प्रमुखको भ्रमणले परिणाम ल्याइसक्यो
अर्को एक प्रसंगमा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्त गोयलको भेट अपारदर्शी नभएको जिकीर गर्नुभयो ।
गोयल ‘रअ’ प्रमुखका रुपमा नभई भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको भन्दै उहाँले भ्रमणपछि विषय धेरै अगाडि बढेर परिणाम ल्याइसकेको दाबी गर्नुभयो ।
दुबै मुलुका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक गर्ने तयारी भएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्