२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदीय समितिमा मन्त्री प्रदिप ज्ञवालीलाई भीम रावलको प्रश्नैप्रश्न


0
Shares

काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आफ्नै पार्टीका नेता एवं पूर्वमन्त्री भीम रावलको प्रश्नको कठघरामा पर्नुभयो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रावलले मन्त्री ज्ञवालीसँग चिनियाँ रक्षा मन्त्री भेटवार्तामा भएको कूटनीतिक चूकका बारेमा प्रश्न उठाउनुभएको हो ।

उहाँले भारतीय जासूसी संयन्त्र ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी ओलीले सुटुक्क गरेको भेटबारे पनि प्रश्न उठाउनुभयो ।

रावलले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डल स्तरको वार्ता मन्त्रीसँग नभएर प्रधान सेनापतिसँग गरिएकामा प्रश्न उठाउनुभएको हो ।

अतिथि सत्कार र बिदाईमा गृहमन्त्री रामबहादुर थापा विमानस्थल गएको तर प्रतिनिधिमण्डलस्तरीय वार्ता भने प्रधान सेनापतिसँग गरिएको बारे रावलले भन्नुभयो, ‘विमानस्थलमा लिन र छोड्न मन्त्रीजी गएको देखिन्छ । अनि प्रतिनिधिमण्डल स्तरको वार्ता सेना प्रमुखसँग ? यो कस्तो कूटनीति हो मैले बुझिनँ ।’

रावलको प्रश्न थियो, ‘एउटा मन्त्रीको प्रधानसेनापतिसँग डेलिगेशनस्तरमा वार्ता हुने चलन मैले त नयाँ सुनेँ । यो कस्तो कूटनीति हामीले आरम्भ गर्न खोजेको मैले बुझिनँ ।’

चिनियाँ रक्षामन्त्रीको भ्रमणका क्रममा बीआरआईका बारेमा भएको वार्ताबारे वक्तव्यमा नआएकोमा पनि उहाँको चासो थियो ।

पूर्वमन्त्री समेत रहनुभएका रावलले प्रधानमन्त्री ओलीले र भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखसँग राति सुटुक्क भेट्नु राम्रो नभएको भन्दै सो भेटबारे संसद, सत्तारुढ दल नेकपा र जनतालाई जानकारी नै नभएको टिप्पणी गर्नुभयो ।

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमणमा के के कुारमा सहमति भयो, के कति उपलब्धि भयो प्रष्ट्याउन सांसद रावलले मन्त्री ज्ञवालीसँग आग्रह गर्नुभएको हो ।