
दिलाशा जम्मकटेल ।
म गएको सात वर्षदेखि आफ्नो परिवारसँग क्यानडामा स्थायी रुपमा बसोबास गरिरहेकी छु । हाल त्यहींको विश्वविद्यालयमा स्नातक तहमा अध्यानरत छु । सामाजिक सेवामा झुकाव रहेको पारिवारीक वातावरणमा हुर्किएकीले ममा सानैदेखि नै दीन दुःखीको सेवा गर्ने भावना उम्रिएको थियो । फलस्वरुप विथ अल माई हर्ट फिलान्थ्रोपिक फाउण्डेशन (With All My Heart Philanthropic Foundation) नामक संस्था स्थापना गरी सो मार्फत् बिगत ६ महिनादेखि क्यानडाको अल्बेर्टामा रहेका बेघरहरुलाई सात पटक खाना खुवाउने काम गरेका थियौं ।
१३ बर्षको उमेरमा नै आफ्नो मातृभूमिबाट हजारौं कोश टाढा क्यानडा पुगेकी म त्यहाँको विकाश र सम्मृद्धि देख्दा आफ्नो जन्मभूमिको आर्थिक, सामाजिक अवस्था सम्झेर चसक्क मुटु दुख्ने गर्दथ्यो । क्यानडा जस्तो सम्मृद्ध मुलुकमा सम्पन्न गरेको खाना वितरण कार्यक्रमले त त्यती राहत पुर्याउन सकियो भने नेपाल जस्तो अति विपन्न देश जहाँ करिब १८ प्रतिशत जनता नै गरीबीको चपेटामा बाँच्न बाध्य छन् त्यहाँ आफूले सकेको केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने भावनाले सँधै मन पोलिरहन्थ्यो ।
यसपछी मैले नेपाल आएर कार्यक्रम गर्न आवश्यक पर्ने रकमको जोहो गर्न सप्ताहन्तमा काम तथा कार्यघण्टा बढाउँदै लगे ताकी आफ्नो देशमा रहेका विपन्न वर्गका नागरिकलाई केही सहयोग गर्न सकियोस । यसरी मैले आफ्नो व्यक्तिगत खर्च कटाइ केही रकम जम्मा गरी नेपालमा रहेको फ्रिडम सोसियल फाउण्डेशन (Freedom Social Foundation) मार्फत समन्वय गरी कास्की जिल्लामा रहेको २ वटा गाउँमा गई खाद्यान्न वितरण गर्ने कार्यक्रम तय गरे ।

गत असारदेखि नै नेपाल आउने व्यग्र प्रतीक्षामा रहेकी म कोरोना महामारीले संसारलाई नै त्रस्त बनाएपछि यात्रा गर्न पाइएन । कोभिड–१९ का कारण भएको बन्दाबन्दीले कार्तिकको अन्त्यमा मात्र नेपाल आउन पाएँ । त्यसपछि अभावमा जीवन गुजारा गरिरहकाहरुलाई केही सहयोग गर्ने इच्छाका कारण मंसिरको ६ गते पोखरादेखि करिब २० किलोमिटर टाढा रहेको घलेखर्क र खैमराङ गाउँ पुग्यौं । पोखराबाट त्यति नजिकै रहेका गाउँहरुमा भौगोलिक विकटता, गरीबी एवं विपन्नता टड्कारो रुपमा देख्न सकिन्थ्यो ।

प्रकृतिको अनुपम सुन्दरताभित्र लुटपुटिएका ति गाउँका मानिसको हृदय झनै कञ्चन थियो । उनीहरुको हामीप्रतिको न्यानो स्वागत र आतिथ्य भाव मन छुने किसिमको थियो । नेपालीले देखाउने यो आतिथ्य भाव संसारको कुनै कुनामा पुग्दा पनि पाउन सकिन्न । हामीले त्यहाँ रहेका करिब एक सय घर धुरीलाई प्रतिपरिवार २५ केजीका एक/एक बोरा चामल र एक पाकेट नून प्रदान गर्यौं । त्यो गाउँमा हामीले भन्दा पहिले कसैले कुनै राहत वितरण नगरेको उनीहरुले बताए । हामीले सानै भए पनि उक्त कार्यक्रम गर्दा त्यहाँका सबै मानिस खुशी देखिनुभएको थियो ।

यसबाट हामीलाई अझै यस्ता कार्य गर्न प्रेरणा मिलेको छ । भर्खर शिशु अवस्थामा रहेको यस संस्थालाई हुर्काइ बढाइ गरेर नेपालको दूर दराजका अरु धेरै गाउँ वस्तीमा पुर्याउने लक्ष्य हाम्रो रहेको छ । यस्का लागि सबैको साथ र सहयोग हामीले अपेक्षा गरेका छौं । त्यसैले आजैबाट आफुले सक्दो सहयोग गर्न यहाँहरु समक्ष पनि हार्दिक अपील गर्न चाहन्छु ।
हजुरहरुको सानो सहयोगले पछाडि परेका वर्ग र समुदायको उत्थान गर्न खाद्यान्न, स्वास्थ्य, शिक्षा, सरसफाई जस्ता आधारभूत क्षेत्रमा सबैको पहुँच बढाउन निकै ठूलो सहयोग पुग्ने आशा छ । अन्तमा, क्यानडाबाट नेपालसम्म आएर यो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबै महानुभावमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।
धन्यवाद !


प्रतिक्रिया दिनुहोस्