१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘एन्टिजेन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने’


0
Shares

काठमाडौं, मंसिर २१ । विज्ञहरुले एन्टिजेन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने बताएका छन् ।

एन्टिजेनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा यसलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने उनीहरुको जोड छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तीर्थ घिमिरेले पीसीआरले भाइरस भित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजेनले भाइरसका टुक्राटुक्रिलाई मात्रै चिन्ने विशेषता हुने बताउनुभयो ।

एन्टिजेनबाट गलत रिपोर्ट समेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन नहुने उहाँको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताउनुभयो ।

उहाँले विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित गर्‍यो भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न सकिने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजेनमा आधारित परीक्षणबाट कोरोना संक्रमणको पहिचान गर्ने व्यवस्था गरेको छ ।