१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने एनजीओसँग शिक्षा मन्त्रालयले तोड्यो सम्बन्ध, कारवाहीका लागि सिफारिस


0
Shares

काठमाडौं, मंसिर २१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालसँगको सम्बन्ध भङ्ग भएको घोषणा गरेको छ ।

अनधिकृतरूपमा नेपाल सरकारको लोगो, मन्त्रालयको नाम र सम्पत्ति प्रयोग गरेको भन्दै सम्बन्ध भङ्ग गरिएको मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

गैरसरकारी संस्थाले नेपाल सरकारको निशान छाप अनाधिकृत रुपमा प्रयोग गरेको र प्रतिलिपि अधिकार समेत उलंघन गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

वि.स. २०७५ साल माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको थिएन ।

आयोगका बहुमत सदस्यहरुले गत शुक्रबार प्रतिवेदन सार्वजनिक गरेका थिए ।

आयोगको प्रतिवेदन छाप्न ग्लोबल एक्सन नेपाल नामक गैरसरकारी संस्थाले सहयोग गरेको राष्ट्रिय अभियान नेपालले छापेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोगको प्रतिवेदन प्रकाशन गर्न मन्त्रालयसँग अनुमति लिएको थिएन ।

मन्त्रालयले कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ ।

आयोगका सदस्यहरुलाई पारिश्रमिक उपलब्ध गराइएको र आयोगले प्रतिवेदन बुझाइसकेपछि त्यसको अधिकार सरकारमा निहित हुने तर्क शिक्षा मन्त्रालयका अधिकारीहरुको छ ।

औपचारिक रुपमा सार्वजनिक नगरिए पनि मन्त्रालयले सोही प्रतिवेदनलाई टेकेर २०७६ सालमा राष्ट्रिय शिक्षा नीति ल्याइएको भनाइ राख्दै आएको छ ।