
काठमाडौं, मंसिर २१ । ग्लोबल युथ लिडरसीप समिट–२०२० काठमाडौंमा आयोजना हुने भएको छ । यहि डिसेम्बरको २२ र २३ मा सम्पन्न हुने समिटको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुहुनेछ ।
कोरोना महामारीको संन्त्रासका कारण यस वर्षको समिट भने भर्चुअल हुने आयोजक संस्थामा अध्यक्ष दिवाकर अर्यालले जानकारी दिनुभयो । ‘दि नेक्स्ट जेनेरेसन लिडरः दि चेन्ज मेकर्स अफ एभ्रि नेशन’ भन्ने सन्देशका साथ सम्मेलन हुन लागेको हो ।
ग्लोबल युथ पार्लियामेन्टको आयोजना तथा नेपाल सरकार र अरु कूटनीतिक निकायसमेतको सहकार्यका गर्न लागिएको यस सम्मेलनमा नेपालबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, भारतबाट वित्त राज्यमन्त्री अनुराग ठाकुर सहभागि हुनुहुनेछ ।
यसैगरी, श्रीलंकाबाट युवा मन्त्री नमल राजापाक्षे, दक्षिण अफ्रिकाबाट युवा मन्त्री वासीम करिम, केन्याका गभर्नर स्टेफेन सांग, जाम्बियाका युवा मन्त्री, बेलायत उपसभामुखसहितका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने अर्यालले जानकारी दिनुभयो ।
नेपालको इतिहासमै निकै नै महत्वपूर्ण र ठूलो संख्यामा युवा भेला हुने र खुला रुपमा विश्वका मुद्दामा छलफल गरिने ग्लोबल युथ लिडरसीप समिट–२०२० मा विभिन्न देशका नेपालस्थित राजदूतावासका राजदूत एवं कूटनीतिक निकायका प्रमुखहरु पनि उपस्थित हुने आयोजकले जनाएका छन् ।
सम्मेलनमा करिब १५० देशका युवा सहभागि हुने अपेक्षा गरिएको छ । कार्यक्रममा क्लाइमेट इमर्जेन्सी, ग्लोबल इकोनोमिक अर्डर र कोभिड–१९, युथ इन्टरप्रेनर्सिप, युथ पोलिटकल पार्टिसिपेसन, ट्रयाक टू डिप्लोमेसी, कन्टेम्पोररी ड्राइभर्स अफ कन्फ्लिक्ट, पीस बिल्डिङ एण्ड सस्टेइन पीस विषयक छलफल सत्रहरु चलाइने छ ।
प्रतिक्रिया दिनुहोस्