१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको हवाई उड्डयनलाई ईयुले कालोसूचीबाट हटाउँदैछः मन्त्री भट्टराई


0
Shares

yogesh bhattarai

काठमाडौं, मंसिर २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताउनुभएको हो ।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनरसंरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसदमा छलफल भइरहेको छ । संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पार्नुभयो ।

नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको दाबी गर्दै उहाँले युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको बताउनुभयो ।

नेपालको वायुसेवा निगमले अष्ट्रेलिया जस्तो उड्डयन सुरक्षाको दृष्टिकोणले निकै नै सुरक्षित मानिएको देशमा समेत सफल उडान गरिसकेकाले अरु आकाशमा पनि प्रतिबन्धित हुनु नपर्ने विश्वास पनि उहाँको छ ।

युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालो सूचीमा राखेको कारण नेपालका कुनैपनि विमान युरोपमा उडान गर्न पाउँदैनन् । यसबाट अन्य देशका गन्तव्यमा जान समेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ ।

तर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपालले हवाई सुरक्षाका लागि गरेको प्रस्ताव स्वागतयोग्य भएको बताउनुले निकट भविष्यमै कालोसूचीबाट हटने संकेतका रुपमा लिन सकिन्छ ।

ईयूले सन् २०१३ को डिसेम्बरदेखि नेपालको हवाई उड्डयनलाई कालो सूचीमा राखेको थियो ।