
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति रहेको छ ।
मुलुकमा पछिल्लो समय राजावादीहरुले देशव्यापी सडक प्रदर्शन चर्काएपछि त्यसबारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा रहेका दलहरुको बैठक बोलाउनुभएको हो ।
केही दिन यता राजसंस्था पुनर्बहालीको माग गर्दै राजावादीहरुले काठमाडौंसहितका देशका मुख्य शहरमा प्रदर्शन गर्दै आएका छन् ।
बैठकमा कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण जनतामा निराशा छाएको र बेरोजगारीको समस्या बढेका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने जनाएको थियो ।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आँच आउन नदिन सरकारलाई सचेत गराउने पनि कांग्रेसले प्रष्ट गरिसकेको छ ।
संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ ।
प्रधानमन्त्री ओलीले यसअघि गत वैशाख ३१ मा नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो ।
तस्वीरः प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया दिनुहोस्