२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विप्लव नेकपाको नृशंशताः घाँटी रेटेर शिक्षकको हत्या


26
Shares

NCP biplab murder to teacher

मोरङ, मंसिर २३ । मोरङ, मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले घाँटी रेटेर नृशंशतापूर्वक हत्या गरेको पाइएको छ ।

मंगलबार विहानै विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नृशंशतापूर्वक हत्या गरिएको फेला पारिएको हो ।

श्रेष्ठको हत्यापछि उनीहरुले हवाई फायर गरेको प्रहरीले जनाएको छ । अपरिचित समूहले लिएर गएको केही समयमै गोली पड्किएको आवाज सुनेपछि स्थानीयले खोजी गरेका थिए । श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलका अनुसार मृतक श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले पनि श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको बताउनुभएको छ । हात बाँधेर घाँटी रेटेको पाइएको प्रहरीको भनाइ छ ।

मिक्लाजुङ पाँचथर र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो ।