
काठमाडौं, मंसिर २३ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पहाडी जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लाण्ट राख्ने भएको छ ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै टीकापुर अस्पताल र महाकाली अस्पतालमा पनि अक्सिजन प्लाण्ट निर्माण गर्ने निर्णय सरकारले गरेको छ ।
अक्सिजन प्लाण्ट निर्माणको प्रकृया तत्काल सुरु हुने मन्त्री सुवेदीले बताउनुभयो ।
पहाडी जिल्लामा सिलिण्डर बोकेर अक्सिजन लैजानु पर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाले अब त्यसको अन्त्य हुने बताउनुभयो ।
जिल्ला अस्पतालहरुमा मिनि अक्सिजन प्लाण्ट निर्माण गर्ने सरकारको तयारी छ ।
सुदूरपश्चिममा अहिले सेती प्रादेशिक अस्पतालमा मात्र अक्सिजन प्लाण्ट छ ।
डडेल्धुरा अस्पतालमा भने संघीय सरकारले नै अक्सिजन प्लाण्ट राख्ने तयारी गरेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्