
काठमाडौं, मंसिर २३ । भारतमा कोरोना महामारीको सन्त्रासका कारण बेहुला बेहुलीले नै पीपीई सेट लगाएर विवाह गरेका छन् ।
मंसिर महिना बिहेबारीको समय हो । बिहेको लगन हेराएर विवाह गर्ने परम्परा रहेका भारत, नेपाललगायतका देशमा अहिले बिहेको मौसम चलिरहेको छ ।
संसार नै कोरोना महामारीले थलिएको छ । यस्तोमा विवाहको तयारी पनि पूरा भइसकेको छ । तर विवाह गरिने दुई पात्र बेहुला वा बेहुली मध्ये एकलाई कोरोना भए के गर्ने ?
भारतको राजस्थानमा भयो यस्तै । विवाहको सबै काम सकाएर अन्माउने दिन आउन लाग्दा बेहुलीलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उपाय सुझाइयो, पीपीईको सेट लगाएरै विवाह सम्पन्न गर्ने ।
यस्तोमा भारतको राजस्थानमा पूरै पीपीई सेट लगाएर बेहुला बेहुली जग्गेमा पुगे । उनीहरुको विवाहको सबै कार्य त्यही पीपीई सेट लगाएर नै गराइएको थियो ।
बेहुला बेहुली मात्रै होइन विवाहमा उपस्थित निकटका व्यक्तिहरुले पनि पुरै शरीर ढाकिने हाज्माट सूट पहिरिएका थिए ।
विवाहमा संलग्न बेहुला बेहुली तथा केटा केटी पक्षका निकट व्यक्तिहरुले पुरै शरीर ढाकिने पहिरनका अलावा मुखमा मास्क लगाएर जग्गेको काम गरेका थिए ।
रमाइलो त के भने उनीहरुको विवाह नै कोभिड–१९ का लागि बनाइएको क्वारेन्टीनमा सम्पन्न गरिएको हो ।
यस्तो विवाह भने भारतको पश्चिमी राज्य राजस्थानको बरानमा भएको हो । बेहुला बेहुलीले विवाहका सबै रीत पूरा गरेरै विवाह गरेका थिए । पुरोहित पनि पुरै शरीर ढाकिने हाज्माट ड्रेसमा थिए ।
बेहुलीका परिवारका अरु सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको जनाइएको छ । उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टीनमा रहेका छन् ।
विवाहपछि बेहुला बेहुली दुबैलाई अलग अलग आइसोलेसनमा राखिएको छ ।
भारत विश्वकै धेरै कोरोना संक्रमित भएको दोस्रो मुलुक हो । जहाँ झण्डै एक करोड व्यक्तिमा संक्रमण भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्