१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

वायुसेवा निगम सुधारको सुझाव दिन मन्त्रीले बनाए कार्यदल


0
Shares

काठमाडौं, साउन २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल बनाएको छ । कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरेलाई बनाइएको छ ।

बुधबारको मन्त्रीस्तरीय निर्णयबाट घिमिरेको संयोजकत्वमा अरु तीन जना सदस्य रहेका छन् । कार्यदलका अरु सदस्यमा लेखा विज्ञ प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव रहने छन् ।

एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न कार्यदललाई भनिएको छ ।

व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन नसकेको र प्रभावकारी व्यवस्थापनका विभिन्न प्रयासहरुले गति नलिएपछि ठोस योजनासहित अघि बढ्न लागिएको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा बृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षमा तत्कालीन तथा दीर्घकालीन सुधार जरुरी भएको मन्त्रालयको ठहर छ ।

नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण, वर्तमान वित्तीय अवस्थाको अध्ययन, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्न कार्यदलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्न तथा निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अरु सुझाव दिन सक्ने भनिएको छ ।