१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा विवाद समाधानका लागि मिलन विन्दुको खोजी जारी, ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता


0
Shares

kp oli prachanda

काठमाडौं, मंसिर २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद छथाछुल्ल भइरहेको बेला अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा स्थायी कमिटि बैठकलगायत पार्टीमा देखिएका विवादका विषयमा सामान्य छलफल भएको बताइएको छ ।

अध्यक्षद्वयले एक अर्कालाई आरोप प्रत्यारोप गरेर छुट्टाछुट्टै प्रस्ताव सचिवालय बैठकमा पेश गरेसंगै नेकपाको विवाद थप चुलिएको छ ।

सचिवालय बैठकमा पेश भएका दुवै प्रस्तावमाथि छलफल भएर साझा विन्दु खोज्ने भन्दा पनि अध्यक्षद्वयले एक अर्काका प्रस्ताव खारेज गर्ने रणनीति लिएपछि विवाद स्थायी कमिटीमा पुगेको छ ।

गत आइतबारको स्थायी कमिटी बैठकमा ती प्रस्ताव अध्ययनका लागि भन्दै सदस्यहरुलाई वितरण गरेर दुवै पक्षले नयाँ रणनीति तय गर्न बैठक एक साताका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमै बसेको बैठकमा पत्रमार्फत उहाँले आफू अनुपस्थित हुनुको कारण पत्रमार्फत खुलाउनुभएको थियो ।

प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नहुने अडान बैठकमै राखिसक्नुभएको छ ।

यसअघि मंसिर ३ गतेको सचिवालय बैठकमा समेत नेताहरूबीच पार्टी विवादका विषयमा घोचपेच भएपछि ओलीलाई जवाफ तयार गर्न १० दिनको समय दिइएको थियो ।

अहिले स्थायी कमिटि बैठक स्थगित भएको चौथो दिनमा दुवै अध्यक्षबीच संवाद भएको हो ।

स्थगित स्थायी समिति बैठक मंसिर २८ गते बस्नेछ ।