
जनकपुर, मंसिर २४ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश जारी भएपछि जनकपुरधाममा एसिड प्रहार सम्बन्धी पहिलो मुद्दा दर्ता भएको छ ।
गत कात्तिक २९ गते जनकपुरधाम उपमहानगरपालिका ७ मा एक महिलालाई उनकै पतिले गरेको एसिड प्रहार सम्बन्धी अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
बुधबार जिल्ला सरकारी वकिल कार्यालय जनकपुरधामले एक पत्रकार सम्मेलन आयोजना गरी पछिल्लो पटक २१ वर्षिय आरती साहमाथि भएको एसिड प्रहार घटनामा पिडीतका पति संजीव साह र उनलाई सहयोग गर्ने एसिड विक्रेता नागेन्द्र साह विरुद्ध अभियोग पत्र दर्ता भएको जानकारी दिएको छ ।
सरकारी वकिल कार्यालयका न्यायधिवक्ता सीताराम अर्यालले असोज १२ गते तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश जारी भएपछि एसिड प्रहार सम्बन्धी पहिलो अभियोगपत्र दर्ता भएको जानकारी दिनुभयो ।
आरोपितद्वयविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसूर सहितका तीनवटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस्