२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुदूरपश्चिममा कोरोनाका १२४ जना संक्रमित थपिए


0
Shares

सुदूरपश्चिम, मंसिर २४ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका शङ्कास्पद ४९३ को नमूना परीक्षण गरिँदा १२४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बाजुरा र डडेलधुराका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार थपिएका सङ्क्रमितसमेत हालसम्म प्रदेशमा कोभिड–१९ का कूल सङ्क्रमित ११ हजार ९९९ पुगेका छन् ।

हालसम्म उपचार व्यवस्थापनपछि नौ हजार ६७६ संक्रमणमुक्त भएका छन् ।

योसमेत प्रदेशमा अहिलेसम्म ४२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दै गएको छ ।

सक्रिय सङ्क्रमित दुई हजार २८१ बिरामी पुगेका छन् ।

कोरोनाको जोखिमलाई मध्यनजर गरी सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले मङ्गलबार सेती प्रादेशिक अस्पताल धनगढी मातहत थप ५० श्ययाको नयाँ कोरोना अस्थायी अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।

हाल उक्त अस्पतालमा ५० श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा छ ।

सरकारको निर्णयपछि सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि अब १०० श्ययासहितको अस्पताल सञ्चालनमा आउने भएको छ ।

प्रदेश मातहतका विभिन्न जिल्लाका आठ अस्पतालमा मिनी अक्सिजन प्लान्टको व्यवस्था गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको थियो ।

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ ।

प्रदेशमा हालसम्म शङ्कास्पद एक लाख २२ हजार ६८१ को नमूना सङ्कलन गरिएकामा एक लाख २२ हजार १९५ को परीक्षण गरिएको छ ।

परीक्षण गरिएको सो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै चार प्रतिशत हो ।