
एजेन्सी, मंसिर २६ । विश्वको चर्चित पत्रिका टाइमले जो बाइडन र कमला ह्यारिसलाई वर्ष २०२० को वर्ष व्यक्ति (पर्सन अफ दि ईयर) घोषणा गरेको छ ।
दुबै व्यक्ति हालै सम्पन्न अमेरिकी निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । निकै प्रतिष्पर्धात्मक मानिएको यस निर्वाचनमा बाइडेनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराएर ह्वाइट हाउस जाने मार्ग तय गर्नुभएको हो ।
३ नोभेम्बरमा भएको अमेरिकी चुनावको मतगणनाको परिणाम अनुसार ७ नोभेम्बरसम्ममा दुबैका लागि ह्वाइट हाउसको मार्ग प्रशस्त भएको थियो । तर ट्रम्पले भने चुनवामा धाँधली भएको भन्दै अझै पनि हार स्वीकार्नु भएको छैन ।
ट्रम्प पहिलो कार्यकालमै ह्वाइट हाउसबाट निस्कन बाध्य बनिरहँदा कमला ह्यारिसले भने अमेरिकी निर्वाचनमा इतिहास रच्दै पहिलो महिला एवं पहिलो अश्वेत एवं दक्षिण एशियाई उपराष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश पक्का गर्नुभएको थियो ।
वर्ष व्यक्ति घोषणा गर्दै टाइमका सम्पादक एडवर्ड फल्सन्थलले भन्नुभएको छ , ‘अमेरिकी कथा बदलेकामा, उग्रतामा भन्दा सहानुभूतिमा कति बढी शक्ति हुन्छ भन्ने देखाएकामा, एक दुःखी संसारमा उपचारको दृष्टि साझा गरेकामा, जो बिडेन र कमला ह्यारिस टाइम २०२० को पर्सन अफ दि ईयर हुन् ।’
यसैगरी, जूमका सीईओ एरिक युआनलाई भने बिजनेसपर्सन आफ दि ईयरमा मनोनित गरिएको छ । स्वास्थ्य संकटका समयमा भिडियो च्याट सेवाबाट पाएको लोकप्रियताका लागि युआनलाई मनोनयन गरिएको हो ।
यस्तै, गार्जियन्स आफ द ईयरका लािग टाइमले नश्लीय–न्यायका पक्षमा लड्ने अभियन्ता एसा ट्राओरा, पोर्च बेनेट–बे र महामारीका समयमा स्वास्थ्यका लागि काम गर्ने डा. एन्थोनी फौसीलाई मनोनयन गरेको छ ।
टाइम पत्रिकाले विश्वका प्रभावशाली व्यक्ति चयन गर्ने परम्परा सन् १९२७ देखि थालनी गरेको हो । सन् २०१९ का लागि वर्ष व्यक्ति युवा जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई चुनिएको थियो ।
प्रतिक्रिया दिनुहोस्